विचार

बरू साइकल चढ्छौं तर झुक्दैनौं भन्ने प्रचण्ड किन गले ?

ईश्वर अर्याल

helambu fm
news-img


दोस्रो संविधानसभाले पनि संविधान नबनाइकनै काम टार्न खोज्ने स्थितिमा पुगिसकेपछि त्यसको अन्तिम घडीमा प्रचण्डले संविधानसभामा एउटा रहरलाग्दो भाषण गरेका थिए । त्यो भाषणले धेरै नेपालीहरूको ध्यानाकर्षण गरिदियो । उनका कतिपय आलोचकहरूले पनि त्यसलाई मन पराए ।

भारतबाट मोदीको विशेष दूत बनेर आएका जयशंकरले ‘हाम्रो इच्छाविपरीत संविधान बनाइस् भने म तँलाई देखाइदिन्छु’ भनेर धम्क्याएको उनले त्यसपछि खुलासा गरे । दुई वर्षमा संविधान बनाउने भनेर शुरु गरिएको प्रक्रिया सात वर्षसम्म जुँगाको लडाईंको कारण लम्बिइसकेपछि करीब करीब संविधान नबन्ने दिशातर्फ गइरहेको माहोललाई प्रचण्डले आफ्नो लचकता प्रस्तुत गरेर सकारात्मक दिशातर्फ डोहो—याएर अन्ततः बाहिरी दबाबका विरुद्धमा अडिग भए । अपांग नै भएपनि देशले एकथान संविधान पायो ।

प्रचण्ड नेपालको राजनीतिमा ठूलो उतारचढाव खेपेर आएका राजनीतिकर्मी हुन् । उनलाई आफूविरुद्धको संगीनभन्दा संगीन आरोप पनि सामान्य लाग्दो हो, त्यसैकारण आफ्ना विरोधीहरूलाई हत्तपत्त धारे हात लगाउँदैनन् । राजनीतिमा जे पनि सम्भव हुन्छ भन्ने कुरालाई नेपाली राजनीतिमा उनले सफल परीक्षण गरेका छन् । त्यसैले त उनले आफ्नो समर्थनमा आफ्नै कट्टर विरोधी मानिनेहरूलाई पटक—पटक सत्तासम्म पु—याइदिएका छन् । उनी कसैका लागि आतंककारी हुन् भने कसैका लागि क्रान्तिनायक पनि हुन् । उनी कसैका लागि संशोधनवादमा फँसेका लालगद्दार हुन् भने कसैका लागि मार्क्सवादको मौलिक प्रयोगकर्ता पनि हुन् ।

संविधानसभाको पहिलो निर्वाचनताका देशैभरि धेरै मतदाताहरूले माओवादीलाई मत दिए । पूर्वगवर्नर दीपेन्द्र बहादुर क्षेत्रीदेखि लिएर पूर्वअर्थसचिव रामेश्वर खनालसम्मका मान्छेले माओवादीलाई साथ दिए । कटुवाल प्रकरणमा नेपाली सेनाका दोस्रो वरीयतामा रहेका कुल बहादुर खड्कासमेत माओवादीको पक्षमा सतीसाल बनेर उभिए । तर दोस्रो संविधानसभाको चुनावमा माओवादीको लोकप्रियता आधा भयो । माओवादी चोइटियो र धेरै घटकहरू बने ।

कसैको क्षणिक समर्थन वा विरोधले देशका ठूला मानिएका दललाई धेरै असर गर्दैन । सतहमा केही असर गरेजस्तो देखिएतापनि दलहरूको भविष्य संरचनागत आधार ९स्ट्रक्चरल फाउन्डेसन० मा निर्भर हुन्छ । माओले भनेको एउटा कुरा यहाँनेर स्मरण गर्न सकिन्छ, ‘कार्यदिशा सही भयो भने नभएका चीजहरू पनि प्राप्त हुन्छन् र गलत भयो भने प्राप्त भएका उपलब्धि पनि गुम्ने गर्छन् । कार्यदिशा भनेको यहाँनेर स्ट्रक्चरल फाउन्डेसनको परिचालन ९मोबिलाइजेसन० प्रक्रिया हो ।


नेपालको राजनीतिमा केही अनौठा घटनाक्रमहरू देखिन्छन् । कुनै पनि राजनीतिक दलको लोकप्रियता त्यस दलले लिने नीतिभन्दा पनि अर्को दलले लिने नीतिमा निर्भर रहन्छ । उदाहरणका लागि, कुनै एउटा दलले नराम्रो काम गरिदियो भने अर्को दलले त्यसलाई फाइदाको रूपमा व्याख्या गर्छ र आफ्नो राजनीतिक वृत्त फराकिलो पार्न सफल हुन्छ । आफैं राम्रो काम गर्नुभन्दा अर्कोले नराम्रो काम गरिदिए हुन्थ्यो भनेर ढुकेर बस्ने र कतिपय अवस्थामा अर्को दललाई नराम्रो गर्न प्रेरित पनि गरिदिने काम भइरहेको हुन्छ । तत्कालका लागि फाइदाजनक मानिएपनि यो तरिका देशको दीर्घकालिन हितमा कदापि छैन ।

खुलामञ्चबाट साइकल चढेर हिँड्न सक्छौं, तर विदेशीको इशारामा हिँड्न सक्दैनौं भनेर घोषणा गरेका प्रचण्ड पछिल्लो र लम्पसारवादी घोषित भएका छन् । उनले बेलाबेलामा प्रस्टीकरण पनि दिन्छन् तर आलोचनाको बीचमा उनले दिएको प्रस्टीकरण कसैको समयमा आएकानमा पर्दैन । यहाँनेर उनको लाइन गलत हो या सही, लाइनलाई गलत ढंगबाट प्रायोजित रूपमा पुष्टि गर्न खोजिएको हो कि के हो, जनमानसमा एकप्रकारको द्विविधा देखिएको छ । राजनीतिक संक्रमणको यो अवस्थामा धेरै सबै कुरा तरल छन् । सामाजिक संजालहरूको व्यापकताले यस्ता कुरालाई बुझ्न गाह्रो बनाउने गरी जटिलता थपेको छ ।

लडाकु शिविरमा भएको भनिएको भ्रष्टाचार काण्ड, व्यापारी सुमार्गीसँग मिलेर लगानी गरिएको भनेको अर्बौंको रकम अनि बेलाबेलामा सञ्चारमाध्यममा आउने गरेको उनको भारतभक्तिलाई उनले उपयुक्त समयमा उपयुक्त कारण दिएर खण्डन गर्न असमर्थ भएका देखिन्छन् । ठूलै बौद्धिक वर्गले विश्वास गर्ने गरेको उनको धनप्रतिको मोहलाई सामान्य मान्न सकिन्न । हावा नचली पात हल्लिँदैन भनेझैं, बजारमा आएका उनका आर्थिक अराजकताका हल्लाहरू एउटा सामान्य र स्वतन्त्र मानिसले होइन भनेर नकार्ने स्थिति छैन ।

प्रचण्डले भन्ने गरेको क्रान्तिकारी छलाङले पछिल्लो समयमा कुनै काम गरेको छैन । परम्पराको निरन्तरताको लागि यो देशमा प्रचण्ड जस्तो कुनै पात्र आवश्यक छैन । परम्परालाई डोहो—याएर अरूले जस्तै सामान्य ढंगले गरीखाने हो भने हजारौंले उनको नाममा गरेको शहादतको पाप बोकेर हिँड्नुपर्छ भन्ने कुरा उनलाई राम्रोसँग थाहा छ ।



उनलाई गलत दिशा समात्न बाध्य गराउने तत्वहरू उनकै वरिपरि घुमिरहेका देखिन्छन् तर उनी लाचार छन् । परिवर्तन ल्याउन भनेर हजारौंको बलिदानसहित जबर्जस्त रूपमा उदाएको एउटा पार्टी र त्यसको नेतृत्वकर्ता प्रचण्डमा देखिएको लाचार अराजकता सामान्य कुरा होइन । यसले भयंकर दुःस्वप्न निम्त्याउन सक्छ ।

उनले बेलाबेलामा लिने गरेका गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जस्ता राजनीतिक परिवर्तनका स्वामित्वहरू जनअनुमोदित नभएको कुरा छिपेको छैन । ती परिवर्तनहरू कागजीकरण भएको दशौं वर्षसम्म पनि संस्थागत हुन नसक्नुको मुख्य कारण जनअनुमोदनको अभाव हो भन्ने कुरा उदार राजनीतिमा आइसकेका प्रचण्डले बुझ्न जति ढिला गर्छन्, देशको संक्रमणकाल उति धेरै लम्बिने निश्चित जस्तै छ ।

राजनीतिक जञ्जालमा जकडिएको देशमा प्रचण्ड या ओली या देउवा जस्ता सामान्य र औसत नेताहरूले निकास दिन सक्दैनन भन्ने पछिल्लो घटनाक्रमबाट पुष्टि भएको छ । उही पुरानो राजनीतिक दाउपेच खेल्दै जाँदा आफ्नो स्वार्थसिद्धिका लागि विदेशी हस्तक्षेप पनि निम्त्याउन तयार हुने नेतृत्व अबको युगमा काम लाग्दैन । यिनै दलहरू सुध्रिने झिनो आशा भएपनि अन्ततः नयाँ पुस्ताले नेतृत्व नलिएसम्म यो संक्रमण लम्बिँदै जान्छ ।

एउटा औसत नागरिकको भन्दा कम सम्पत्ति विवरण देखाउने तर जीवनस्तर भने अर्बपतिको जस्तो बिताउने विरोधाभासले नेताहरूको आर्थिक र सांस्कृतिक विचलनमा फँसेको कुरालाई सहजै इङ्गित गर्छ । राज्यको महत्वपूर्ण पदमा बस्दा होस् या पदबाट बाहिर बस्दा होस्, ठाँटबाँटमा कहीँ कतै कमी आएको देखिएको छैन । वर्षौंदेखि राजनीतिलाई नै पेशा बनाउँदै आएका नेताहरूले आफ्नो जीविकोपार्जनको उपायका रूपमा राजनीतिलाई लिएसम्म भ्रष्टाचार कम हुने परिकल्पना नगर्दा हुन्छ । यो प्रवृत्तिलाई प्रचण्ड मात्र होइन, नेपालका लगभग सबै राजनीतिकर्मीले अपनाएका छन् ।


जहिलेसम्म नेपाली समाज रोलेक्स घडी, साइकल, तेल, रेल जस्ता भौतिक वस्तुलाई राष्ट्रवादको मानक मान्न तयार रहिरहन्छ, त्यति बेलासम्म हामीबीच अन्तःसंघर्ष रहिरहन्छ । जहिलेसम्म नेपाली समाजले यसभित्र रहेका विविधतालाई स्वीकार गर्न सक्दैनन् त्यतिबेलासम्म सामाजिक चेतनाको सार्वभौम विकास हुन सक्दैन र यस्तै गलत प्रवृत्ति भएका नेताहरूबाट समाज र देश शासित भइरहन्छ । यसकारण हरेक नेपालीले आफ्नो समाजको आधारभूत संरचनालाई परिवर्तित दृष्टिकोणले हेर्न सक्ने हो भने यही सामाजिक लोकतन्त्रभित्र रहेका समाजको नेतृत्व गर्ने दलहरूले आफूमा आधारभूत आन्तरिक संरचना परिवर्तन गरेर मात्र एक्काईसौं शताब्दीका उन्नत लोकतान्त्रिक शक्ति बन्न सफल हुन सक्छन् ।

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.