विचार

लालु र काल

helambu fm
news-img

हेमन्त गिरी

दुई भिन्नाभिन्नै क्रूर र अमानवीय घटनामा ज्यान गुमाएका रूपन्देहीका दुर्गा तिवारी र काभ्रेकी लक्ष्मी परियार प्रति भावपूर्ण श्रद्धांजलि तथा शोक संतप्त परिवारजनमा हार्दिक समवेदना ! सत्य तथ्य खोजी गरी दुबै घटनाका दोषीलाई कडा भन्दा कडा कारवाही होस ।

नेपाली समाजमा एउटा उखान प्रचलित छ,’जोई मरी भन्दा पनि काल पल्क्यो भन्ने डर!’ के काल पल्केकै हो हाम्रा बस्तीहरुमा ?

उहिले पढेको महेन्द्रमालामा काल सबैले देख्ने गरी आउँथ्यो, अनि भन्थ्यो, ‘तेरो मिति पुग्यो, म तँलाई लिन आएको हुँ’ । कथा अनुसार-हिंड्दा हिंड्दै पंधेरामा नुहाइरहेकी षोडसीलाई रूखको ज़रा तानेर रूख लड़ाई मारे पछि लालुलाई काल संग रिस उठ्यो । लालुलाई कालको आउने तरिका र सबैलाई लैजाने तरिका मन परेन, अनि कालले दिएको बाँच्ने समयावधिमा रूख कोपेर कालकोठरी बनायो रे ।

 

झुक्याएर काललाई थुन्यो अनि आफूले इच्छाए जति बाँच्यो रे । तर पछि अशक्तताको कारण बाँच्ने चाहना नै घाँडो बनेपछि काललाई फुक्का गर्यो रे, तत् पश्चात काल लुकेर आउने सम्झौता भयो रे !

महेन्द्रमाला हट्यो, तर काल आउने तरिका अझै हटेको छैन । काल अहिले पनि देखिएरै आउँछ । कहिले अर्को बाइकमा सवार भएर ओवरटेक गर्दै पेस्तोल बोकेर त कहिले हातमा मलमूत्र लिएर बोक्सी पुकार्दै शिक्षकको भेषमा, कहिले काला र झुत्रे जनता मात्र ताक्ने सुरक्षाकर्मीको बन्दूक़ बोकेर त कहिले सामन्ती र शोषक मात्र देख्ने विद्रोहिको भाटा छोपेर, कहिले त्रिशूली माथिको भिर, यातायात व्यवसायीका सिंडिकेट, अनि तीन पुस्ते गाड़ीको त्रिवेणी बनेर त कहिले कंक्रिट जंगलमाँझ मलिलो जमीनमाथिको ओभरलोडको थर्थराहट बनेर । काल देखिने गरी नै आइरहन्छ । यसरी आउने काल सर्वसाधारणको लागि मात्र आउँछ, केहि मृत्यु जितेका ‘लालु’हरुको हकमा काल कसरी आउँछ, अन्योल छ ।

सायद लजिम्पाट, बालकोट र बूढानीलकण्ठका दरबारहरुमा खुब बलियो र भरपर्दो कालकोठरी बनाएर काललाई थुनेको हुनुपर्छ ।

दुर्गा तिवारी मर्दा उनकी श्रीमती विधवा भइन, लालाबाला टुहुरा भए, बाबुआमा बुढ़्यौली आंशुमा डुबे । एउटा परिवार छिन्नभिन्न भयो । र त्यस्तै भयो लक्ष्मी परियार मर्दा अर्को परिवार पनि । यो साता आसपासमा भएका यी अकालका दुई मरणमा हाम्रो समाजको स्पष्ट चित्र देखिन्छ । लक्ष्मी वा दुर्गा जो मारिए पनि दुई नेपाली मारिएका हुन । एउटा छोरा मारिए, अर्की चेली मारिइन । एउटा बाबु मारिए, अर्की आमा मारिइन । एउटा श्रीमान मारिए, अर्की श्रीमती मारिइन । तर हाम्रो समाजमा चल्ने बहस र गरिने व्यवहारले दुई फरक तत्व मारिए जस्तो भान पार्छन ।

बरोबरीको शोक र बरोबरीको वियोगलाई पनि हाम्रो समाजले पृथकीकरण गर्छ । यी मसिना कुराहरु कोही केलाउँदैनन, बस् नारा लगाउँछन्, जुलूस निकाल्छन, टायर बाल्छन र वियोगको आगोमा आफ्नो स्वार्थ सेक्छन् । समाज भन्छ-दुर्गा नामको एमाले मारियो, लक्ष्मी नामकी दलित मारिई । समाज भन्दैन-नेपाली नागरिक मारियो ।

दुर्गा तिवारी एक एमाले कार्यकर्ता जसको पहुँच केन्द्रसम्म थियो, जसको उठबस देश हाँक्नेहरुसंग थियो, उनको हत्याको आक्रोशमा देश नै ठप्प पार्न एउटा पक्ष लागि पर्यो । आकस्मिक हत्यामा त्यो आक्रोशलाई अस्वभाविक मान्न सकिन्न । तर प्रश्न यहाँ त्यही अनुपातको आक्रोश र भिड लक्ष्मीको मृत्युमा किन मौन बस्यो भन्ने हो । के भिड़को कमी भएको देश हो नेपाल ?

के यी दुई नागरिक हत्याकाण्ड फरक हुन ? के यहाँ राज्य, दल अनि स्वयं नागरिकहरुको विभेदपूर्ण दृष्टि देखिन्न ? दुर्गा तिवारीको हत्याको बिरोधमा त्यत्रो भिड सडकमा निस्किदा लक्ष्मीको लागि किन निस्केन ? जवाफ सजिलो छ, लक्ष्मी दलकी मान्छे थिइनन, दुर्गा थिए । फेरि पनि, दुबै जना नेपाली नागरिक थिए । के नागरिक-अधिकार फरक फरक हुन्छ, त्यो पनि हत्या जस्तो विषयमा ? कि मानवीय संवेदना नै फरक हुन्छ ?

आज देशको प्रत्येक युवा दलको झंडा बोक्न किन चाहन्छ ? ताकि भोली मृत्यु पर्यन्त त्यही झंडामा लपेटिएर ब्रम्हनाल सम्म पुग्न पाइयोस, मलामीको ठूलो भिड़ पछि लगाउन पाइयोस, अनि आफ्नो लास अघि अघि पछि पछि नारावाजी सुन्न पाईयोस भनेर ?

केहिलाई त्यो चाहना हुनसक्छ, तर प्रमुख कारण त्यो होईन । भिड मन पराउने नेपाली युवा जमात त्यति पर सायद सोंचदैन, सोंच्छ त केवल आज कता संरक्षित हुन्छु, कता पालित पोषित हुन्छु । कताबाट ढाकछोप भई सुरक्षित हुन सक्छु र मृत्युलाई नै जिते झैं गरी सुविधा र शान पूर्वक बाँच्न सक्छु । तर अपशोच! दिन दहाडै बिच बाटोमा गोली चल्छ अनि एउटा युवा निशानामा पर्छ । यसरी नै अस्ताइरहेक़ा छन, होनहार युवाहरु ।

काललाई थुनेर केन्द्रमा बसिरहेका ‘लालु’हरुलाई एउटा दुर्गाको मृत्युले केहि फरक पार्दैन, तर मृत्युको प्रपोगाण्डाले गज्जब फाइदा गर्छ । इशारा गरिदिन्छन, बस् एक इशारामा दुर्गाको मृत्युमा देश नै ठप्प पार्नेहरु सक्रिय हुन्छन । तर के लक्ष्मीको मृत्युमा देश ठप्प पार्नेहरु पनि छन् देशमा ? छैनन, र आगामी कैयौं युग सम्म हुनेवाला पनि छैनन, भए पनि त्यो जमात निरिह छ, आवाज दबेको जमात छ ।

सर्व साधारणको जीवन बाँचुन्जेल जति कठिन बनाइएको छ, मरे पछिको समवेदना अझ त्यो भन्दा जटिल बनाइएको छ । जति समवेदना लक्ष्मीको मृत्यु प्रति पंक्तिकार लाई छ, त्यो भन्दा एक लेश पनि कम छैन दुर्गाको मृत्यु प्रति पनि । तर समाजमा स्थापित केहि खराब प्रचलनहरुको बिरुद्ध कोहि त बोल्नै पर्छ, कसैले त लेख्नै पर्छ । बाँचुन्जेल अधिकार पनि नपाउने अनि मरे पछि न्याय पनि नपाउने नेपालीहरु कति होलान, के तिनको लागि मेरो देशमा कहिले नारा लाग्ला ? कहिले देश ठप्प होला ? कहिले भिड उत्रेला ? अहं, आश छैन । अनि जब आश देखिंदैन, झंडा समाउनै पर्ने हुन्छ, ज्यानको ठेंगान नभए पनि कम्तिमा मृत्यु पछि भिड त लाशको पछि लाग्ला भनेर । कठै विडम्बना !

अर्को पाटो, जुन युवा केहि लाभको लागि राजनीतिमा होमिन्छ, उसकै जीवन कति सुरक्षित हुन्छ त! भन्ने पनि हो । दुर्गाको हत्या एक निश्चित दलले आन्दोलन चर्काएको समयमा भयो, त्यो हत्यामा व्यक्तिगत, राजनीतिक वा आपराधिक केहि अभीष्टहरुको संयोग नहोला भन्न सकिन्न । तर आन्दोलनको मौसम बाहेकको समयमा के दुर्गाको जीवन सुरक्षित थियो त ?

थिएन । किनकि देवदह जस्ता मेरो देशका नांगा सडकहरुमा काल आज पनि छाडा हिंड़छ । काल कतै क़द छ भने त्यो बालकोट, लजिम्पाट वा बूढानीलकण्ठमा होला । दुर्गाले पुरै जीवन त पाएनन, तर मृत्यु पछिको समवेदना त पाए, अनि मृत्यु पछिको न्याय पनि पक्कै पाउलान । किनकि उनी राजनीतिको सिंढी चढेर ‘थाप्ने’ लेभलबाट ‘पाउने’ लेभलमा उक्लिसकेका व्यक्ति हुन । तर ‘थाप्ने’ लेभलकी लक्ष्मीले के पाउलिन त ? एक ग्रामीण बस्तीकी दलित महिला, जसको मृत्युको खबर उनको १० वर्षे छोराले नेपालका प्रमुख मीडियाबाट सुनाउँछ, पिडकको नाम बाहिर आउँछ, तर न राज्य संवेदनशील बन्छ न नेताको एउटा आह्वानले उम्लिहाल्ने भिडको खुन उम्लिन्छ । तालिमे खुनमा स्वतन्त्र उम्लिने तागत नभएर हो कि ?

पोहोर नाकाबन्दीको बेला ग्याँस जुटाउन साह्रै गाह्रो भो । एक जना दलवाला भाईलाई अलिकति बढ़ी पैसा दिएर जुटाइयो । झण्डै आधा उमेर कान्छो त्यो भाईले दलमा नलागेकोमा र प्रगति नगरेकोमा मलाई धिक्कार्यो । मैले पनि गोप्य मतदान गरेको आधारमा कुनै दल प्रति आफ्नो स्वामित्व दर्शाइन । मेरो र त्यो भाई दुवैको जीवनमा स्वभाविक वा अस्वभाविक एक दिन काल पक्कै आउने छ । त्यो भाईको शब झण्डाले लपेटिने छ, मेरो कात्रोले । त्यो भाईको मलामीको भिड कैयौ बढी हुनेछ मेरो भन्दा । फेरि पनि त्यो भाईको परिवार र मेरो परिवार अनि आफन्तले भोग्ने बरोबरीको पिडा त बरोबरीकै हुनेछ ।

तर रमितेहरुको लेखाजोखामा सम्भवत: उसको पीडालाई ठूलो मानिने छ, उ प्रतिको समवेदनालाई पृथक ठानिने छ । समाज यसै गरी चलिरहनेछ । बिचारलाई लालच वा डरले छेक्नेछ, कात्रोलाई झंडाले बिस्थापित गर्दै लैजाने छ, समवेदनालाई आग्रह पूर्वाग्रहले थिच्ने छ, अधिकारलाई भिडले कुल्चने छ अनि न्यायलाई तर्कले खण्डित गर्ने छ।

फेरि पनि काल खुलेयाम आउन त छोड्ने छैन, देवदह-काभ्रे सानो बागथली लगायतका निरिह बस्ती हरुमा । केहि ‘लालु’हरुले आफ्ना दरबारमा थुनेको काल चाहिं त्यहिं भित्रै मर्यो वा बूढो भयो वा कहिले निस्किने हो, अत्तोपत्तो छैन।

aadarsajeevan@gmail.com

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.