बिचित्रको संसार

रजश्वला भएका छात्रासँग देउता रिसाए भन्दै शौचालय भत्काइयो

helambu fm
news-img

 वैशाख ६ बैतडी ।विद्यालय परिसरमै छात्राहरू काम्दै बेहोस भई भकाभक लड्न थालेपछि लोजनीको पिपलकोट माध्यमिक विद्यालयका पदाधिकारी र अभिभावकको मतैक्य यस्तो रह्योे, ‘कि शौचालय भत्काऔँ नभए महिनावारी भएका बखत छात्रालाई विद्यालयमा आउन नदिऊँ ।


विद्यालय परिसरमा रहेको मन्दिर नजिकै बनाइएको शौचालयमा महिनावारी भएका बखत शौच गरेकै कारण देउता रिसाएकाले छात्राहरू बेहोस बनेको ठम्याइ विद्यालय पदाधिकारी तथा अभिभावकको रह्यो । ‘मास हिस्टेरिया’बारे अनभिज्ञ विद्यालय पदाधिकारी तथा अभिभावकले अन्ततः शौचालय नै भत्काइदिए । शौचालय भत्काइएपछि बेहोस हुन छाड्नु संयोग थियो तर अभिभावकले त्यसलाई दैवी चमत्कारका रूपमा लिए ।


स्रोत व्यक्ति लालदत्त ओझाले जिल्ला शिक्षा कार्यालय बैतडीद्वारा आयोजित छात्रा शिक्षा सञ्जालको बैठकमा ‘मास हिस्टेरिया’ भएका दुई विद्यालयमा देउता रिसाएको भन्दै धामी झाँक्रीबाट उपचार गर्न खोजिएको बताउँदै भने , “कतिपय विद्यालयमा त महिनावारी भएकी महिला शिक्षकले चार दिन पढाउनु नपर्ने निर्णयसमेत व्यवस्थापन समिति र अभिभावकबीच भएको रहेछ । हामीले थाहा पाएपछि त्यस्तो गर्नबाट रोक्यौँ । ”


सुदूर पश्चिममा रजश्वलाका बखत अध्ययनरत छात्रा तथा महिला शिक्षकले भोग्नु परि रहेको पीडा अझै घट्न सकेको छैन । जिल्लाका सदरमुकाम तथा आसपासमा रजश्वलाका कारण सिर्जित समस्या कमै देखिए पनि ग्रामीण तथा दुर्गम क्षेत्रमा उनीहरू पीडित छन् । सहरी क्षेत्रमा लुकाइने गरिएकाले घटेको जस्तो देखिएको सरोकारवालाको भनाइ छ ।

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.