समाचार

फेरि भेटियो नक्कली नोट

हेलम्बु संबातदाता
news-img

पोखरा।पोखरा बजारमा ५ सय रुपैयाँ दरका नक्कली नोट भित्र्याउने गिरोह अझै पत्ता लाग्न सकेको छैन। बजारमा दिनहुँजसो नक्कली नोट भेटिए पनि सरोकारवाला निकालयले कारोबारी फेला परेका छैनन्। राष्ट्रबैंक र प्रहरीले गिरोहको खोजी भइरहेको जनाएको छ।राष्ट्रबैंक पोखराका अनुसार माघ १३ गतेदेखि ५ सय रुपैयाँ दरका नक्कली नोट फेला पर्न थालेका थिए। विभिन्न वित्तीय संस्थामार्फत ती नोट राष्ट्रबैंकमा संकलित गरिएका छन्। पछिल्लो समय एक हजार रुपैयाँ दरका नक्कली नोटसमेत फेला परेको राष्ट्रबैंकले जनाएको छ।

राष्ट्रबैंक पोखराका निर्देशक पोमनाथ गौतमका अनुसार माघदेखि अहिलेसम्म १ सय ४० थान ५ सय रुपैयाँ र दश थान १ हजार रुपैयाँ दरका नोट भेटिएका छन्। 'कुन नाकाबाट कसरी नोट भित्रिएको हो भन्ने पत्ता लगाउन प्रहरीसँग समन्वय गरिरहेका छौं,' गौतमले भने 'नक्कली नोटको बारेमा सर्वसाधारणलाई सु–सुचित गरेका छौं।

उनका अनुसार अहिले पोखरा आसापसका जिल्लामा पनि नक्कली नोट फेला पर्न थालेका छन्। चैत र बैशाखमा नक्कली नोट बढी फेलापरेको पनि उनले बताए।

केही दिन अघि म्याग्दीमा ५ सय रुपैयाँ दरको नक्कली नोट फेला परेको थियो। राष्ट्रबैंकका अनुसार घ/२०–६७९७४६ र घ/२०–७९९७४६ सिरिजका नोट सुरुताका बजारमा भेटिएका थिए। तर, पछिल्लो समय सिरिज एउटै भए पनि गिरोहले नम्बर अगाडिपछाडि पारेर बजारमा नोट पठाएको पाइएको छ। राष्ट्रबैंकका उपनिर्देशक अमर अधिकारीका अनुसार एउटै नम्बरका नोटसमेत बजारमा फेला परेका छन्। 'सुरुमा सिरिज मात्र मिलेका नोट फेला परेका थिए। तर, अहिले एकै नम्बरका नोट पनि भेटिएका छन्,' उनले भने, 'सुरुताका फेला परेका नक्कली नोटमा उल्लेख गरिने नम्बरमा पछिल्लो चार अंक मिलेका थिए। अहिले तिनै अंकलाई अगाडिपछाडि पारिएको छ।'

गिरोहरले नम्बर मात्र परिवर्तन गरेर नोट बजारमा फैलाएको हुनसक्ने उनले बताए। एकहजार रुपैयाँ दरका नोटमा भने सिरिज सहित नम्बर नै फरक फरक रहेको भेटिएको छ।

पोखरामा भेटिएका नोट नक्कली हुन् वा सक्कली भनेर छुट्याउन कठिन भएमा राष्ट्रबैंककै मुद्रा व्यवस्थापन विभागमा पठाएर यकिन गर्दै आएको छ। अधिकारीका अनुसार ठूलो संख्यामा नक्कली नोट पोखरामा भेटिएकाले समयमै नियन्त्रण गर्न नसकिए नक्कली नोटको जालो अन्यत्र फैलने त्रास छ।

नक्कली नोटमा लालीगुराँसको पानी छाप छैन भने सुरक्षाका लागि राखिने धागो पनि कमसल छ। नोटको कागज पनि गुणस्तरीय छैन भने नोटको कटाइ पनि मिलेको छैन। नोट नक्कली वा सक्कली छुट्याउन सर्वसाधारणलाई केही कठिनाई हुने भए पनि बैंक तथा वित्तीय संस्थाले सहजै ठह्र्‍याउन सक्ने अधिकारीले बताए। वित्तीय संस्थाले नोट नक्कली वा सक्कली छुट्याउन अल्ट्राभायलेट मेसिन राख्ने गरेका छन्। मेसिनले सक्कली नोट हेर्दा अंक र गर्भनरको हस्ताक्षरमा हरियो बल्छ। तर, नक्कलीमा बल्दैन। त्यस्तै नोटमा हुने सगरमाथाको तस्बिरको हिउँमा पनि मेसिनले हेर्दा हरियो बत्ती बल्छ।

'नक्कली नोटको गुणस्तर कमजोर छ। तर, भीडभाड, बसपार्क, तरकारी बजार, होटल, रेस्टुरेन्टमाफर्त यस्ता नोट बजारमा आउने सम्भावना बढी हुन्छ,' अधिकारीले भने। सर्वसाधारण, कम पढेका वृद्धवृद्धा, हतारमा रहेका व्यक्तिलाई यस्ता नक्कली नोट भिराएर गिरोहले ठग्न सक्ने उनले बताए। पर्यटकीय क्षेत्र भएकोले पनि गिरोहले पोखरामा नक्कली नोट भिœयाएको हुनसक्ने उनको अनुमान छ। फोटोकपि वा स्क्यानिङ गरेर नोट बजारमा ल्याइएको हुनसक्ने उनले बताए।

बैंकका अर्का उपनिर्देशक बसन्त थापाका अनुसार सक्कली नोट कटनपेपरबाट बनेका हुन्छन्। तर, नक्कली नोट साधारण कागजमा छापिएको छ। कटनको कागज हातले छुँदा खस्रो हुने थापाले बताए। 'सक्कली नोट दृष्टिविहीनले समेत छुट्याउन सक्छन्,' थापाले भने, 'तर, नक्कलीमा दुईतिरको भाग भिन्दाभिन्दै छापेर जोडिएको छ। नक्कली नोटमा दुईपत्र रहेका छन्। दुईपत्र जोडेर एउटा नोट बनाइएको छ।'

'पोखराबाहेक अन्यत्र पनि ५ सय दरका नक्कली नोट देखिन थालेका छन्। हामीले गिरोहको खोजी खोजिरहेका छौं,' उनले भने, 'हामीले यहाँ भेटेका नोटको विवरण प्रहरीका अन्य निकायमा समेत सर्कुलर गर्दैछौं। त्यसबाट गिरोह पत्ता लाग्न सक्छ।'नागरिकबाट

 
 

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.